कुश्मा नगरपालिका ८ की पञ्चकली नेपाली रोगले थलिएको दुई वर्ष भयो । उनलाई स्त्री रोगसम्बन्धी समस्या देखिएपछि श्रीमान्ले अर्की श्रीमती लिएर छुट्टै बस्न थाले । ‘जो होचो, उसैका मुखमा घोचो’ भन्ने उखान पञ्चकलीमा ठ्याक्कै मिल्यो । भूकम्पले उनी बस्दै आएको सानो खरको छाप्रो भत्काइदियो । राहतका नाममा एउटा त्रिपाल र पाँच माना चिउराबाहेक नभेटेकी पञ्चकलीको मुहारमा अहिले भने खुसी छाएको छ । एमालेका नेता–कार्यकर्ताले उनको घर पुनर्निर्माण गर्न थालेपछि परिवारमा अहिले खुसी छाएको छ ।
एमाले पर्वतबाट महिनाअघि खटिएका स्वयंसेवीहरू जिल्लाभरका अशक्त परिवारका घर बनाउँदै पञ्चकलीको घरसम्म आइपुगेका हुन् । ‘जिल्लाभर खटिएका स्वयंसेवीले पहिलो प्राथमिकतामा अशक्त परिवारका घर छानेर बनाउँदै हिँडेका छौं,’ एमालेका पोलिटब्युरो सदस्य गणेश तिमिल्सिनाले भने, ‘जसका घरमा काम गर्ने कोही छैनन्, ती हाम्रा प्राथमिकतामा परेका छन् ।’ अहिलेसम्म करिब ५५ घर निर्माण गरिसकेको तिमिल्सिनाले बताए ।
एमाले सभासद कल्पना चापागाईं, जिल्ला उपाध्यक्ष भक्त कुँवर, सचिव पदमपाणि शर्मालगायत दुई सय दुई स्वयंसेवी विभिन्न समूहमा विभाजन भएर अशक्त परिवारका घर निर्माणको अभियानमा जुटेका हुन् ।
भूकम्पले जिल्लाका करिब ३ हजार २ सय घर पूर्ण क्षति भएका छन् । तीमध्ये वृद्धवृद्धा, अपांग, न्यून आर्थिक अवस्थाका परिवारका घर भत्काएर निर्माण गरेको स्वयंसेवीहरू बताउँछन् । ‘रानीपानी, बर्राचौर, तिलाहार, देउपुरलगायतका गाविसमा धेरै अशक्त परिवार भेट्यौं,’ सभासद चापागाईंले भनिन्, ‘कतिपय परिवारका सदस्य सबै अपांग छन् । घरमा एकछाक खाने अन्नसमेत छैन ।’ त्यस्ता परिवारका घर निर्माणसँगै खाद्यान्नसमेत सहयोग गरेको चापागाईंले बताइन् । एक महिने अभियान सकिए पनि बिपन्न र सहाराविहीन परिवार अझै त्रिपालमुनि बस्दै आइरहेका खबर पाएपछि त्यस्तालाई सहयोग गर्ने क्रम जारी रहेको स्वयंसेवी अर्जुननिर्जन पौडेलले बताए ।
एमालेको अभियानअन्तर्गत बढीमा दस जनाको समूह विभाजन गरिएको छ । दसमध्ये प्राय: सबै समूहमा दक्ष सिकर्मी, डकर्मीसमेत सहभागी छन् । विभिन्न समूहमा विभाजित एमाले स्वयंसेवीले करिब एक सातामा एउटा घर निर्माण गर्छन् ।
‘सकेसम्म एकतले घर ढुंगामाटाको गारो लगाएरै बनाएका छौं,’ एमाले उपाध्यक्ष कुँवरले भने, ‘अलि समय लाग्नेजस्तो भयो भने जस्ताको छानो हालेर अस्थायी छाप्रो बनाएर छोड्छौं ।’ विभिन्न सहयोगी संघसंस्थाबाट जस्तापाता खोजेर पीडितलाई उपलब्ध गराउँदै आएको एमालेले जनाएको छ । पार्टीको पहलमा अहिलेसम्म करिब साढे तीन सय बन्डल जस्तापाता वितरण गरेको एमाले अध्यक्ष पदम गिरीले बताए ।
