हिजो युवा बनेर क्रान्तिमा होमिनेहरु आज रित्तोहात बृद्ध भएर दारीकपाल फुलिसकेका छन । हिजो सुन्दर सपना देखाएर क्रान्तिमा होम्नेहरुले रातारात आफ्नो औकातमा परिवर्तन गराएका छन । यो देशमा ००७ साल देखी २०७१ सालसम्म आईपुग्दा कर्णाली नदिमा धेरै पानी बगिसकेको छ । देश राणाकाल हुँदै राजतन्त्र, बहुदलिय प्रजातन्त्र हुँदै गणतन्त्रमा आईसकेको छ । हिजोका बिद्रोहीहरु आज सत्ताधारी भईसकेका छन । तर दुर्भाग्य हिजोका क्रान्तिकारी बिद्रोही जन्माउने रोल्पा र रुकुमका ति बस्तीहरु आजपनि उस्तै छन । खाली यत्ति हो हिजोका हरियाली बस्तीहरु आज खुरिखण्डाल भएका छन । हिजोका हराभर रोल्पा रुकुमका भिरपाखाहरु आज सुनसान हुन थालेका छन । हिजो गाउँमै बित्ने दैनिकीहरु आज खाडीमा बित्ने गरेका छन अनि हिजोका टाठाबाठा तर खिंग्रिङ्ग परेका बिद्रोहीहरु आज चिल्ला भएका छन । उनीहरुले चिन्न छाडेका छन थवाङ्गका बिरमान पुनहरुलाई ।
आखिर परिवर्तन पनि त दुई खालको हुँदो रहिछ । एउटा रातारात हुने नयाँ परिवर्तन त अर्को दिनप्रतिदिन ओरालो तिरको यात्रा अर्थात नकारात्मक परिवर्तन । अँझ यसलाई यथास्थितीबादी परिवर्तन भन्दा पनि मिल्ला । समय गतिशिल बन्दै गर्दा बस्तुमा परिवर्तन नहुनुलाई पनि समयसँग जोडेर हेर्दा परिवर्तन भन्न मिल्ला अर्थात अधोगतिको प्रवेशद्धार । जस्मा उन्नतिको थोपा पर्न नसक्दा पिडा गाँजिएको हुन्छ । हो यस्तै पिडाको एउटा कथा रोल्पाको तेवाङ्ग गाविसमा रहेको श्री जनप्रिय नमुना प्राथमिक बिद्यालयको छ ।

रोल्पा जिल्लाको तेवांग गाबिसमा रहेको श्री जनप्रिय नमुना प्राथमिक बिद्यालय
मैले रोल्पाको तेवाङ्ग गाविसमा हिँड्दै गर्दा तहराको पर्खाल नजिकैबाट महिनौं देखी नधोएको जस्तो देखिने सर्ट र कसैले दान दिएको जस्तो मैलो भ्याङ्ग्ले कट्टु लगाएर तहरा नजिकैबाट उकालो लाग्दै गरेका हेर्दा सुकिला देखिने एक व्यक्तिसँग भटभटाइरहेका हुतमान पुनलाई देखें ।
उनी भन्दै थिए ‘नजिक बिद्यालय छैनन् टाढा बालबच्चा जान सक्दैनन् । यहाँबाट नजिकको सरकारी बिद्यालय पुग्न स–साना बालबालिकाहरुलाई कम्तिमा २ देखि ३ घण्टा हिड्नु पर्छ । नजिक भनेको पनि त्यही स्कुल हो जहाँ कहिले सम्म पढाई हुन्छ थाहा छैन । अब बर्खा लाग्यो स्कुल गएर बच्चा घर आईपुग्छन कि पुग्दैनन थाहा छैन’ ।
ती ५५ बर्षिय हुतमान पुनको पिडा सुनेर मैले पनि सोंचे हिजोका पुराना शाषकहरुले त गरेनन नै तर पछिल्ला दशकहरुमा रोल्पा रुकुममा मकै र ढिँडो खाएर क्रान्तिका झण्डा फहराउँदै हिँड्नेहरु पनि एउटा समय सत्तामा पुगे तर किन उनीहरुले हुतमान पुनहरुका पिडामा मलम लगाउन सकेनन वा चाहेनन ?
हितमान पुनको चिन्ता रोल्पा जिल्लाको तेवांग गाबिसमा रहेको श्री जनप्रिय नमुना प्राथमिक बिद्यालयको थियो । जहाँ कक्षा तीनसम्म पढाई हुन्छ र यस बिद्यालयमा जम्मा ८५ जना बिद्यार्थीहरु अध्यनरत छन् । राज्यको त्यति आँखा नपर्ने रोल्पा त्यसैमाथि बिकट गाबिस तेवांगको यस बिद्यालयमा यति धेरै बिद्यार्थीहरु अध्ययन गर्नु आफैमा राम्रो कुरा हो । तर, दुर्भाग्यबस यति धेरै ससाना बालबालिकाले शिक्षाको उज्यालो ज्योति हासिल गरिरहेको यस बिद्यालयमा न त कुनै सरकारी दरबन्दीका शिक्षक छन् न कुनै सरकारी सहयोग नै प्राप्त भएको छ । स्थानीय अविभावक र समाजसेवीले आफूखुसी गरेको सहयोग र स्थानीय युवाको निस्वार्थ सेवाले नै आजसम्म बिद्यालय सञ्चालन भईरहेको छ । तर थाहा छैन यि दाताहरुले कहिलेसम्म सहयोग गर्छन र कहिलेसम्म चल्ने हो यो बिद्यालय ।
काठमाडौँ र यसका आसपासका जिल्लाहरुमा २ जना बिद्यार्थी बराबर १ शिक्षक भएका र कतै ५ जना बिद्याार्थीलाई पढाउन सिङगो बिद्यालय नै चलेको पनि नसुनिएको होईन् । तर रोल्पाको तेवांगमा रहेको यो स्कुलमा स्थानीयले आफ्नो तबरबाट गरेको प्रयास सान्दर्भिक र सराहनीय छ तर के सरकारले भन्दै गरेको र विभिन्न राजनैतिक दलहरुले भट्टाउदै आएको आधारभूत वर्ग र तहका लागी निःशुल्क शिक्षामा यी बालबालिका अटाउन सक्दैनन् ? यी अबोध बालबालिकाले सरकारबाट के अपेक्षा गर्ने ? खोइ सरकार, खोइ राजनैतिक पार्टीहरु अनि देशको आमुल परिवर्तन गर्छौ भनेर १० बर्ष संघर्ष गर्नेहरु खोई ?
नीजि बिद्यालयहरुले आफ्नो शैक्षिक गुणस्तरमा गरिरहेको सुधार र त्यसको तुलनामा सरकारी स्कुलहरुमा गुणस्तर बढ्नुको सट्टा घट्दै गएको अवस्थाले बिस्तारै सरकारी स्कुलहरु सुनसान जस्तो हुन थालिसकेका छन । तरपनि यो स्कुलमा भने बिद्यार्थीको राम्रो चाप रहेको छ । सरकारी दरबन्दी एकजनाको पनि हुननसक्दा प्रताडित यो स्कुलको अवस्थाले कुन दिन यो स्कुल पारिश्रमिक र तलब खुवाउन नसक्ने हो भन्ने अवस्था सिर्जना भएको छ ।
सरकारी उपेक्षामात्र होईन यस बिद्यालयलाई प्राकृतिक बिपत्तिले पनि बर्षेनी थप पिडा दिईरहेको छ । खहरे खोलाको छेउमा नै रहेकोले वर्षा याममा आउने भेलबाढीले नियमित कक्षा संचालनमा समेत अबरोध र्पुयाउदै आएको छ । खोला किनारमा जिबिस अन्तर्गतको एक आयोजना मार्फत गरिएको तटबन्धन कार्यले पिडामा केहि हदसम्म भएपनि मलम लगाउने गरेको छ । तर यो निकै अस्थायी प्रकृतिको मात्र छ । स्कुलसँगै बग्ने खोलामा राम्रो तटबन्दको व्यवस्था गर्नसके यहाँका स्कुले नानीहरुले सुन्दर भबिश्यको मार्गचित्र कोर्न पाउँथे कि भन्ने यहाँका स्थानियको अपेक्षा रहेको छ ।
यतिमात्र होईन गत बैसाखमा गएको बिनाशकारी भुकम्पले देशका १४ वटा जिल्लाहरुमा नराम्रोसँग ध्वस्त बनाएको चर्चासँगै सबैको ध्यान त्यतैतिर मात्र केन्द्रित भएको छ तर उक्त भुकम्पले यहाँको स्कुलमा पुर्याएको क्षतिबारे हालसम्म कसैको ध्यान पुग्न नसक्दा यहाँका स्कुले नानीहरुको शैक्षिक भविश्य अन्यौलमा परेको छ । एकातर्फ भुकम्पिय क्षति, अर्कोतर्फ बर्षायाममा बाडी र खोलाको त्रास त छँदैछ त्योभन्दा पनि ठुलो यस स्कुलमा कुनैपनि दरबन्दी हुन नस्कदा ग्रामिणस्तरबाट उठाईएको चन्दाबाट चलिरहेको यो स्कुल कतिदिन चल्ने हो ? रोल्पामा स्वास्थ्य, बाटोघाटे, पुलपुलेसा, यातायात, खानेपानी जस्ता सेवा सुबिधाहरुको त कुरा छोडौं । सधै सिंहदरबारमा बसेर शिक्षासम्बन्धी बजेट र नीति नियम बनाउनेहरु अनि यो देशका सिँगो शासक बर्ग र हिजो देशलाई बदल्छौं भनेर कफन बाँदेर हज्जारौं युवाहरुलाई परिवर्तनको बाटोमा हिँडाउनेहरुले यो स्कुल कहिले देख्ने हुन र यहाँका नानीहरुको भबिश्यमा सुन्दर अक्षरले कोरिने हो यो प्रतिक्षाको बिषय रहेको छ ।
