खाना पकाएको लामो समय भैसकेपछि चिसो भएका कारण होस् वा बँचेखुसेको खाना पुनः खाँदा होस् हामीले खानेकुरालाई तताएर खाने गर्छौँ । कहिलेकाहीँ ठूलो परिमाणमा पकाएको खाना धेरै जनाले फरक फरक समयमा खानुपर्दा धेरै पटक तताउनुपर्ने हुन्छ । घरमा बिहान पकाएको खाना धेरै हुँदा दिउसो र बेलुकी सम्म पनि खाने र त्यसो गर्दा पटक पटक तताउने गरिन्छ। तर विज्ञहरुका अनुसार पटक पटक खाना तताएर खानु हानिकारक हुन्छ ।खानालाई धेरै पटक तताउँदा त्यसमा भएको पोषक तत्व नष्ट हुन्छ ।
यतिमात्र होइन, आलु, कुखुराको मासु, अण्डा लगायतका कतिपय खानेकुराहरुलाई पटक पटक तताउँदा ती खानेकुराको तत्वहरुमा रासायनिक प्रतिक्रिया भएर बदलिन्छ ।विज्ञहरुका अनुसार धेरैपटक खानेकुरा तताउँदा पटक पटकको रासायनिक प्रतिक्रियाका कारण हानिकारक तथा विषाक्त पदार्थ समेत सिर्जना हुने र अर्थात् फुड प्वाइजनिङको खतरा पनि हुन्छ । यी खानेकुराहरु पकाइसकेपछि धेरैपटक तताउनु हानिकारक हुन्छः
पालुंगोको साग- पालुंगो लगायतका सागपातमा नाइट्रेट रसायन हुन्छ, जुन पटक पटक तताउँदा विषाक्त पदार्थमा परिणत हुन्छ ।
अण्डा- उच्च तापक्रममा पटक पटक अण्डा तताउँदा अण्डामा भएको प्रोटिनको रासायनिक परिवर्तन भई विषाक्त पदार्थको निर्माण हुने जोखिम हुन्छ । त्यसकारण एकपटक उमालिसकेको वा अम्लेट बनाइसकेको अण्डालाई फेरि फेरि नतताउनुहोस् ।
च्याउ- च्याउको तरकारी सधै ताजा मात्र सेवन गर्नुहोस् । बासी वा पकाएको लामो समय भएर पुनः तताएको च्याउ नखानुहोस् । च्याउ निकै संवेदनशील तरकारी हो । च्याउलाई पटक पटक तताउँदा यसमा भएको उच्च मात्राको प्रोटिन हानिकारक पदार्थमा बदलिन सक्छ ।
कुखुराको मासु- मानिसहरु कुखुराको मासुलाई फ्राइ गरेर राख्ने र तताउँदै खाँदै गर्न रुचाउँछन् । तर यसो गर्नु हानिकारक हुनसक्छ । किनकी कुखुराको मासुमा प्रोटिनको मात्रा उच्च हुन्छ । जुन चिसो भैसकेपछि फेरि तताउँदा विषाक्त पदार्थमा बदलिन सक्छ ।
आलु-आलु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर यदि पकाएको आलुको परिकारलाई लामो समयसम्म फ्रिजमा राखेर फेरि तताएर नखानुहोस् । यसो गर्दा आलुमा हानिकारक रासायनिक प्रतिक्रिया भई आलुमा भएको तत्व विषाक्त पदार्थमा परिणत हुने जोखिम रहन्छ ।