नयाँ दिल्ली, जेष्ठ २१ - रुपन्देही, तिलोत्तमा नगरकी गृहिणी सविता पौडेललाई ‘व्रेन–स्ट्रोक’ भएपछि मेदान्त अस्पताल ल्याएर उपचार थालेको १० दिन भयो । मेदान्तमा लेजर–अप्रेसनसहितका सेवा–सुविधापछि सघन उपचार कक्षमा राखेर बिरामी स्याहार्न थालेको यो छोटो अवधीमा सविताका श्रीमान रामप्रसादले १२ लाख रुपैंयाभन्दा बढी खर्चिसकेका छन् । ‘गरीखाने घरखेत बेच्ने बेला भएको छ,’मेदान्तको प्राइभेट वार्डमा भेटिएका रामप्रसादले भने, ‘त्यसमाथि हामीलाई अन्तर्राष्ट्रिय बिरामीको दर्जामा राखेर लागेको खर्चमा थप १५ प्रतिशत अतिरिक्त शुल्क लिने भएका छन् । यही अतिरिक्त खर्च कटौती भैदिएपनि यहाँ बिरामी कुरुवालाई आवतजावत गर्न, होटलमा बस्न र दालरोटी खान पुग्ने थियो ।’
४७ वर्षीया सवितालाई गत बैशाख २५ मा व्रेन–स्ट्रोक भएपछि बुटवल, भरतपुर, काठमाडौं हुँदै शिक्षण अस्पतालको ‘रिफर’मा मेदान्त ल्याइएको थियो । ‘यहाँ डा.विपुल गुप्तालाई भेट्नु भनेर मौखिक रिफर भएपछि अरु कुरा नबुझी हत्तपत्त आइहालेका हौं,’पौडेल दम्पत्तीको सहयोगी बनेर आएका आफन्त जीवन पौडेलले भने,‘यहाँ आएर मात्रै खर्चका हिसाबमा अनेक शीर्षक र अतिरिक्त शुल्क बेहोर्नुपरेको हैरानी थपिएको छ ।’
सामान्यतया विदेशबाट आउने बिरामीका लागि दोभाषे र अन्य सहायताका निम्ति १५ प्रतिशत अतिरिक्त शुल्क लिएर मेदान्त, अपोलो, फोर्टिज, म्याक्ससहितका नीजि अस्पतालले बिरामीमाथि अनावश्यक व्यवहभार थप्दै आएका छन् । मेदान्तमा उपचारार्थ राखिएकी अर्धबेहोस अवस्थाकी सविताको सहयोगमा राखिएका नर्सहरु स्वयं दक्षिण भारतबाट आएका र उनीहरु आफैं हिन्दी स्पष्ट बोल्न नसक्ने भेटिए । नेपालका गाउँघरबाट आएका पौडेल दम्पत्तीजस्ता आगन्तुकले अंग्रेजी बुझ्न नसकेर कठीनाइ बेहोरिरहेको दृष्य मेदान्तमा देखियो । खेतिकिसानी पृष्ठभूमीका पौडेल दम्पत्तीले दुई स्कुले छोरीलाई रुपन्देहीको घरमा छाडेर आएका छन् । ‘तर उपचार खर्च धान्न नसकेरै बीचैमा फिर्नुपर्ने स्थिती आउला जस्तो छ,’जीवन भन्छन् ।
दिल्ली, हरियाणा र आसपासका सुविधासम्पन्न अस्पतालहरुमा उपचारार्थ आउने नेपालीले बेहोर्ने अतिरिक्त शुल्कसहितको कठीनाइका बारेमा विदेश मन्त्रालयमा समेत जानकारी पुगिसकेको छ । ‘निजी अस्पतालसँग तपाईहरु दूतावासका तर्फबाट आफैं कुरा गर्नुहोस्, गुनासोमा आएझैं अतिरिक्त व्यहभार घटाउने कुरामा कठिनाइ उब्जिएमा हामी पत्राचार गर्नेछौं,’विदेश मन्त्रालयका नेपाल मामला हेर्ने एक अधिकारीले सुझाएपछि दुतावासले यहाँका निजी अस्पतालसँग कुराकानी गर्न सुरु गरेको छ । राजदूत दीपकुमार उपाध्यायसहितका अधिकारी मंगलबार मेदान्त अस्पताल गएर त्यहाँका कार्यकारी अध्यक्ष डा.नरेश त्रिहानसँग नेपालीले उपचार क्रममा बेहोर्ने अतिरिक्त शुल्कसहितका कठिनाइबारे कुराकानी गरेका थिए ।
‘अन्तर्राष्ट्रिय बिरामीका हकमा रहीआएको यो १५ प्रतिशत अतिरिक्त शुल्कको व्यहभार हामी आजैबाट हटाउन तयार छौं,’कार्यकारी अध्यक्ष डा.त्रिहानले राजदूत उपाध्यायसँग भने,‘तर अस्पतालसँग सिधै सम्पर्क गरेर अथवा नेपाली दूतावासको सिफारिश लिएर बिरामी यहाँ आउनुपऱ्यो । बिरामीलाई सहज उपचार गराइदिने नाममा बिचौलिया अथवा एजेन्टले अनावश्यक फाइदा लिएकाले हामी मर्कामा परेका हौं ।’ भारतीय राष्ट्रपतिका निजी चिकित्सक समेत रहेका वरिष्ठ सर्जन डा.त्रिहानले तत्कालको मितिबाट नेपाली बिरामीका लागि कुनै पनि प्रकारको अतिरिक्त शुल्क नलिने विश्वास पनि दिलाए ।
डा.त्रिहानले भारतीय बिरामी नेपालमा उपचारार्थ जाने र नेपाली भारतमा आउने ‘रेसिप्रोकिसीटी’ आधारमा समेत १५ प्रतिशतको अनावश्यक व्यहभार लगाउन नमिल्ने स्पष्टीकरण आफैं दिएका थिए । राजदूत उपाध्यायले मेदान्तपछि अरु नीजि ठूला अस्पताल भ्रमणमा गएर नेपालीले बेहोरिरहेको अनावश्यक शुल्कबारे कुराकानी गरिने जानकारी दिए । तर, एम्स, राजीव गान्धी क्यान्सर अस्पतालजस्ता सरकारी उपचार केन्द्रमा यस्तो अतिरिक्त शुल्कको प्रबन्ध नरहेको समेत उनले बताए । नेपाली बिरामीलाई सक्दो सेवा/सहुलियत र प्राथमिकता दिन राजदूत उपाध्यायले गत साता अखिल भारतीय आर्युविज्ञान संस्थान(एम्स)का निर्देशक डा.एमसी मिश्रलाई भेटेर परामर्शको सुरुवात गरेका थिए ।
के हो ग्लोबल हेल्थ ?
किड्नी प्रत्यारोपणका लागि लामो समयदेखि धापासीको ग्रान्डी हस्पिटलमा राखिएकी जोरपाटीकी सुषमा लामालाई मेदान्तमा भर्ना गरेको एक महिना भइसक्यो । भूकम्पका कारण ग्रान्डी उपचारका निम्ति अनुपयुक्त भएपनि श्रीमती सुषमालाई लिएर उनका श्रीमान हरि लामा दिल्ली उत्रिएका थिए । ‘अहिलेसम्म २५ लाख रुपैंयाभन्दा बढी खर्च भएको छ,’मेदान्तमा भेटिएका हरिले भने,‘तर मैंले भने साथीभाइबाट सल्लाह पाएर १५ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपरेन ।’ उनका अनुसार ग्लोबल हेल्थ एण्ड हेल्प अर्गनाइजेसन नामको संस्थामा निवेदन दिएपछि यो अतिरिक्त शुल्क मिनाहा भएको थियो ।
गत असोज महिनायता सञ्चालनमा आएको यो संस्थाले आफ्नो भिजिटिङ–कार्डमा ‘सबै प्रकारको रोगको उपचारमा सहुलियत दरमा दिल्ली, लखनउ, बरेली, पटना, सिलीगुढीस्थित अस्पतालमा रिफर गर्ने’ गर्ने परिचय खुलाइएको छ । संस्थाका अध्यक्ष कृष्णराज गैरेका अनुसार मेदान्त, अपोलोसहितका अस्पताल व्यवस्थापनसँग कुरा गरेर त्यहाँ लिइँदै आएको अतिरिक्त शुल्क हटाउने र बिरामी भर्ना प्रक्रियालाई थोरै भएपनि सहजीकरण गर्ने प्रयास भइरहेको छ । मोर्डन इरा टुर्स एण्ड ट्राभल्स नामबाट नेपाल–भारत बस सञ्चालन गर्दै आएका गैरेले उपचारका निम्ति भारत आउने नेपालीलाई यातायातसँगै उपचारको समन्वय गराउन ‘मार्केटिङ पोलिसी’मा यो सिफारिशको काम थालिएको बताए । उनका अनुसार गत असोज महिनायता झण्डै ३ सय नेपाली बिरामीका लागि ‘रिफर’ गरिसकेको दावी गरे ।
‘तर यहाँ रहेको कुटनीतिक नियोगले भने कुनै निजी संस्थाको सिफारिशमा बिरामी सहुलियतको कुरा गर्नुभन्दा हामी आफैंले अस्पताल व्यवस्थापनसँग कुरा गर्दै सेवा–सुविधाको पहल गर्नु उपयुक्त हुन्छ,’ दूतावासका एक अधिकारीले भने । दूतावासले मेदान्त झैं अरु निजी अस्पतासँग पनि परामर्श गरेर नेपाली बिरामी उपचारार्थ सेवा/सहुलियतको कुरा अघि बढाउने जानकारी दिएको छ ।