काठमाडौं, पाकेटमारी गरेर एक व्यक्तिले ललितपुरमा तीनतले घर बनाएका छन् । नेपालका विभिन्न ठाउँमा पाकेटमारी गर्दै आएका भारतीय नागरिक जितेन्द्र सिंहले पाकेट मारेकै पैसाले नख्खुमा घर बनाएका छन् ।
प्रहरीले ५० वर्षीय सिंह र उनका साथी दोलखा घर भएका ४९ वर्षीय सन्चबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ । ललितपुर प्रहरीले कुमारीपाटीबाट उनीहरूलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध शाखा ललितपुरका प्रमुख इन्स्पेक्टर नरेन्द्र चन्दका अनुसार सिंह र तामाङले ३० वर्षदेखि पाकेटमारी गर्दै आएका थिए । ‘पाकेटमारीबाटै आफूले ७०–८० लाख रुपैयाँ कमाएका सिंहले बताएका छन्,’ इन्स्पेक्टर चन्दले भने, ‘कतिपटक पाकेट मारेँ भन्ने आफूलाई याद नभएको पनि सिंहले बताएका छन् ।’
वेला–वेलामा भारतबाट ज्याकेट ल्याएर नेपालमा बिक्री गर्ने भए पनि सिंहको आम्दानीको मुख्य स्रोत भने पाकेटमारी नै भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको चारजनाको समूह रहेको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका तामाङ भने स्वयम्भूमा डेरा गरी बस्दै आएका थिए । सो समूहका अन्य दुईजना फरार छन् ।
प्रहरीका अनुसार ललितपुरमा ८ चैतमा उनीहरूले दुईजनाको पाकेट मारेका थिए । कुमारीपाटीस्थित गुडविल फाइनान्समा कृष्ण महर्जनको ५० हजार रुपैयाँ तथा पुल्चोकस्थित राष्ट्रिय वाणिज्य बैंकमा रञ्जन पराजुलीको ४८ हजार रुपैयाँ पाकेट मारेका थिए । सेयरको फर्म भर्ने क्रममा उनीहरूले पाकेट मारेका थिए । आफूहरू पनि फर्म भर्न बसेजस्तो गरी उनीहरूले पैसा निकालेका थिए ।