रासस
धनगढी, असार २७ - कैलाली जिल्लाको पहाडी क्षेत्र सहजपुर गाविस–२ बयँला गाउँमा गए राति विषालु च्याउ खाँदा पाँच परिवारका २१ जना बिरामी परेका छन् ।
गाउँ नजिकै रहेको जङ्गलबाट दिउँसो टिपेर ल्याइएको च्याउ साँझपख घरमा पकाएर खाँदा मानिस बिरामी परेको पाइएको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक सागर बोहराले जानकारी दिए ।
च्याउ खाएर बिरामी हुनेमा १० महिला, छ बालक, चार बालिका र एक युवक छन् । बिरामी हुनेमध्ये शान्ति थापा र ओम दर्लामी मगरको अवस्था केही गम्भीर रहेको चिकित्सकलाई उद्धृत गर्दै बोहराले बताए ।
इलाका प्रहरी कार्यालय फल्टुडेको टोलीले राति नै सबै बिरामीलाई सेती अञ्चल अस्पताल धनगढीमा पुर्याएको थियो । घटनास्थल धनगढीदेखि करिब ६५ किमीको दूरीमा छ ।
यसैगरी अर्घाखाँचीको धनचौर गाविसमा पनि विषालु च्याउ खाँदा चार बालिका सिकिस्त बिरामी परेका छन् ।
जङ्गलबाट ल्याएको विषालु च्याउ शनिबार खाँदा धनचौर गाविस वडा नं १ निवासी आठ वर्षीया अस्मिता जिसी, छ वर्षीया युवा जिसी, आठ वर्षीया गीता जिसी र पाँच वर्षीया सुस्मिता जिसी सिकिस्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।
सबै बालिकालाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवलको अञ्चल अस्पतालमा राति नै पठाइएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: २०७२ असार २७ ०९:५२
