सत्तापक्षले उपयोगको नीति लिए दुर्भाग्य
२५ असार, काठमाडौं । प्रमुख विपक्षी दलका नेता एमाओवादी अध्यक्ष प्रचण्डले भूकम्पपछिको असाधारण अवस्थाका कारण नेपालका प्रमुख दलहरुले ठूलो चक्रव्यूह तोड्न सफल भएको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि शुक्रबार संसदमा भएको छलफलमा भाग लिँदै प्रचण्डले भने-‘हामी ठूलो भूमरीबाट निस्किएका छौं, चक्रव्यूह तोडेका छौं । अब अघि बढ्ने बाटो खुलेको छ ।’
संविधान निर्माणका सन्दर्भमा भएको सहमतिलाई संकेत गर्दै प्रचण्डले यस्ता टिप्पणी गरेका हुन् । तर उनले सत्तापक्षले यो सफलता प्रतिपक्षलाई गलाएर प्राप्त भएको भन्ने भ्रम पालेको हो भने त्यो मुलुकका लागि ठूलो दुर्घटना हुने चेतावनी समेत दिए ।
प्रचण्डले भने-‘मलाई चिन्ता लागेको छ, सत्ता पक्षको यहि मानसिकता र चिन्तनको तरिकाले ठूलो दुर्घटना हुन सक्छ । यो असाधारण परिस्थितिमा प्रतिपक्षले असाधारण भूमिका देखाएको हो भन्ने आत्मसाथ सत्ता पक्षले गरोस् ।’
सरकारको नीति तथा कार्यक्रममा सबै आफ्नो सफलता भन्ने ढंगले कुराहरु आएको भन्दै नले सत्ता पक्षले असाधारण परिस्थितीको गम्भिरताबोध गर्न नसकेको आरोप लगाए । ‘सत्तापक्षले अहिलेको परिस्थितीलाई आफ्नो सफलता ठानेर प्रतिपक्षलाई उपपयोग गरेको भन्ने ठान्छ भने त्यहि बिन्दूबाट दुर्भाग्य हुनेछ । भूकम्पछिको नवनिर्माणका लागि सत्तापक्ष पनि असाधारण भएर अघि बढोस् ।’
एमाओवादी अध्यक्ष प्रचण्डले सत्तापक्षलाई आश्वस्त पनि पार्न खोजे । उनले १६ बुँदे सहमति र संविधान निर्माणको प्रक्रियामा भने आफू दृढ रहेको पनि प्रष्ट पारे । ‘मैले सतर्क गराउन खोजेको हो, यसको अर्थ मेरो भनाइलाई प्रक्रिया बिथोलिने हो कि भन्ने नठानियोस’-उनले भने ।