
वैशाख १२ गते गएको भूकम्पका कारण कलाकार घनश्याम भुषाल पनि घाइते भए । उनकी श्रीमती पनि घाइते भएकी छिन् । उनको घर पनि भूकम्पले ढालेको छ । घनश्याम विभिन्न हाँस्य सिरियलमा नक्कली प्रचण्ड बनेर अभिनय गर्छन् । सिरियलमा अभिनय गर्न थालेपछि उनलाई नक्कली प्रचण्ड भनेर धेरै दर्शकले चिन्न थालेका छन् ।
तर, भूकम्पपछि घनश्यामको पीर मर्का वुझिदिने कमै मात्र भए । तर, एमाओवादी निकट संगीतकार चेतन सापकोटाले उनको घाउमा मल्हम लगाउने काम गरेका छन् । सोमबार बेलुकी सूर्यविनायक नगरपालिकास्थित भक्तपुर कटुन्जेमा चेतनकै पहलमा एमाओवादीका अध्यक्ष प्रचण्ड पुगेका छन् । नक्कली प्रचण्डलाई भेट्न सक्कली प्रचण्ड पुग्दा स्थायिन पनि खुशी देखिए । सो स्थानमा करिब २५ वटा घर भत्किएका छन् ।
प्रचण्डले घनश्यामलाई उनको समस्या सोधेका थिए । घनश्यामले स्वास्थ्य उपचार मुख्य समस्या भएको सुनाए । प्रचण्डले भूकम्प पीडितहरुका लागि घर बनाउन सरकारले दिने भनेको सस्तो ऋण निकासाका लागि पहल गर्ने बताए । सो स्थानमा भूकम्पले प्रभावित भएका सम्पूर्ण स्थानियका लागि प्रचण्डले ठूला २ वटा टेन्ट पनि दिएका थिए ।
तर, फोटो खिचेर सस्तो लोकप्रियता कमाउनु छैन भन्दै प्रचण्डले घनश्यामलाई नै सम्पूर्ण स्थानियलाई टेन्ट, चामल, चिउरा वितरण गर्न भनेका थिए । प्रचण्डले राहतका लागि खाद्यन्न लगेपनि आफैले भने वितरण गरेनन् । त्यहाँ जानुअघि उनले घनश्यामसँग टेलिफोनमा कुरा गरेका थिए ।