काठमाडौं, असार ५ - मरेको कुखुरा बेचेको भन्दै उपभोक्ताले गुनासो गरेपछि वनस्थलीमा रहेको वेलकम कोल्ड स्टोरमा पुगेको प्रहरी आफैं अचम्ममा पर्यो । व्यापारीले मानव स्वास्थ्यमा या हदसम्मको खेलवाड गर्छन् भनेर प्रहरी नै अचम्मित भयो ।
प्रहरीसँगै पुगेका उपभोक्ताले त अब कुखुराको मासु खाइन्न भन्दै थिए । शनिबार बिहान वेलकम कोल्ड स्टारबाट प्रहरीले मरेका कुखुराको मासु बेच्दै गरेको अवस्थामा रंगेहात व्यापारी फेला पार्यो । कोल्डस्टोरमा १ सय ३० वटा मरेका कुखुराको मासु तयार पारेर बेच्न लाग्दालाग्दै प्रहरीले बरामद गरेको हो।
केही समययता शंकास्पद मासु बेचिरहेको भन्ने स्थानीयको गुनासो आएपछि प्रहरीले कोल्डस्टोरलाई विशेष निगरानीमा राखेको थियो । आज बिहान स्थानीयले मरेको कुखुरा तयार पार्न लागेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
सर्लाहीस्थित देवकुमार साहको फर्मबाट ल्याइएको कुखुरा ‘गाडीमा मरेको हो’ भन्दै स्टोर सञ्चालक नन्दकिशोर गुप्ताले बेच्न लागेको स्वीकार गरेका छन् । फर्मबाटै मरेको हालिएको हो कि बाटोमा ल्याउँदा ल्याउँदै मरेको हो भन्ने अनुसन्धान भइरहेको महानगरीय प्रहरी विट वनस्थलीका असई प्रेमराज गौलीले बताए ।
गुप्तालाई थप अनुसन्धानको लागि बालाजु प्रहरी वृत्तमा राखिएको छ । स्थानीयले गुप्ताले एक ट्रक कुखुरा नै मरेको ल्याएर बेच्न लागेको आरोप लगाएका छन् । बरामद मरेका कुखुरालाई सातवटा बोरामा हालेर अनुसन्धानको लागि वृत्तमा नै लगिएको असई गौलीले बताए ।
तस्बिर पनि: शालिग्राम





