-स्वास्थ्य खबरपत्रिका
डा. अञ्जु गुरुङ अहिले अमेरिकाको साउदर्न इलिनोइस युनिभर्सिटीबाट इण्डोक्राइनोलोजीकी फेलो हुन् । अमेरिकाको स्वास्थ्य प्रणाली बुझेकी उनी नेपालमा पनि स्वास्थ्य बिमाको कभरेज बढाउनुपर्ने सुझाव दिन्छिन् । यसका साथै सरकारले गरिब जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ । प्रस्तुत छ, डा. गुरुङसँग अमेरिकी स्वास्थ्य प्रणालीको सेरोफेरोमा रहेर गरेको कुराकानी :
डा. अञ्जु गुरुङ अहिले अमेरिकाको साउदर्न इलिनोइस युनिभर्सिटीबाट इण्डोक्राइनोलोजीकी फेलो हुन् । अमेरिकाको स्वास्थ्य प्रणाली बुझेकी उनी नेपालमा पनि स्वास्थ्य बिमाको कभरेज बढाउनुपर्ने सुझाव दिन्छिन् । यसका साथै सरकारले गरिब जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ । प्रस्तुत छ, डा. गुरुङसँग अमेरिकी स्वास्थ्य प्रणालीको सेरोफेरोमा रहेर गरेको कुराकानी :
तपाईंको विचारमा अमेरिकी हेल्थ केयर सिस्टमको सबल पक्ष र कमजोरी केके हुन् ?
अमेरिकी मेडिकल सिस्टमको सबल पक्ष भनेकै यहाँको मेडिकल सुविधा, प्रविधि, नवीन पद्धति र उपचार हुन् । यसका अतिरिक्त क्लिनिकल रिसर्चमा अमेरिका अग्र स्थानमा छ । अमेरिकामा बीमा अर्को महत्वपूर्ण अंग भएको छ । स्वास्थ्य बिमाले यहाँका ८५ प्रतिशत जनसंख्या ओगटेको छ । अर्कोतिर स्वास्थ्य उपचार सेवा महँगो हुनु यहाँको हेल्थ केयर सिस्टमको कमजोरी हो । अमेरिका सुविधानसम्पन्न त छ तर सबैभन्दा बढी मेडिकल एरर पनि यहीँ छ । एक तथ्यांकअनुसार बर्सेनि ९८ हजार अमेरिकीले मेडिकल एररबाट ज्यान गुमाउने गरेका छन् । फेरि ती सबै रोक्न सकिने गल्ती हुन् । अमेरिकाको १५ प्रतिशत जनसंख्या अर्थात् ३ करोड ७० लाख मानिससंग स्वास्थ्य बिमा छैन । यो जनसंख्यामा एकतिहाइ १८ वर्षमुनिका छन् ।
नेपालको अहिलेको स्वास्थ्यसेवा प्रणालीलाई माथि उठाउन कस्ता कदम चालिनुपर्छ जस्तो लाग्छ ?
मेरो विचारमा यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्वास्थ्य बिमाको कभरेज अधिकतम रुपमा बढाउनुपर्छ । यसका साथै सरकारले गरिब जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन कुनै कसर बाँकी राख्नुहुन्न । सरकारले युनिभर्सल हेल्थ कभरेजको आइडियालाई स्वीकार गर्नुपर्छ भने विकट ग्रामीण क्षेत्रमा प्राथमिक उपचार सुविधा उपलब्ध गराउनुपर्छ ।
इण्डोक्राइनोलोजी क्षेत्रसँगै सम्बन्धित भएको नाताले मधुमेहका बिरामीले पाउने सुविधा वृद्धि गर्न के गर्नुपर्ला ?
मधुमेहका रोगीहरुलाई डाइबेटिक डाइटका बारेमा चेतना दिनुपर्छ, सकेसम्म यस्तो शिक्षा डाइटिसियनमार्फत् दिँदा राम्रो । मधुमेह राम्रोसंग नियन्त्रण गर्न दैनिक ब्लड सुगर मोनिटरिङ गर्न र नियमित रुपमा एचबीए१सी परीक्षण गर्न प्रोत्साहित गर्नुपर्छ । सम्भव भएसम्म टाइप १ मधुमेहका जटिलता समाधानका लागि इण्डोक्राइनोलोजीकहाँ जानुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा त मधुमेह तथा सम्बन्धित माइक्रोभास्कुलर र म्याक्रोभास्कुलर जटिलताका विषयमा जनचेतना जगाउनु आवश्यक छ ।
तपाईंले नेपालको स्वास्थ्य सेवा प्रणालीको विकासमा कस्तो योगदान दिन सक्नुहुन्छ ?
इण्डोक्राइनोलोजीको फेलोसिप सकिसकेपछि म नेपालमै बसेर मधुमेहका बिरामीहरुलाई इण्डोक्राइन सेवा दिन चाहन्छु ।
स्वास्थ्य र मेडिकल टुरिजममा बढ्दो विश्वव्यापीकरणबाट नेपालले कस्तो फाइदा लिन सक्ला ?
विश्वव्यापीकरणले विश्वभर रहेका विभिन्न खालका स्वास्थ्य सुविधाका बारेका हरेक मानिसलाई जानकारी दिन मद्दत गर्छ । मानिसले आफ्नो क्षमताले भ्याउने भएमा जहाँसुकै गएर भए पनि उत्कृष्ट उपचार सेवाको फाइदा लिनसक्छ । व्यवस्थित रुपमा सञ्चालन भएका मेडिकल टुरिजमसम्बन्धी संस्थाहरुले मानिसलाई यस्ता जानकारी लिन सहज बनाउँछन् ।
अमेरिकामा पाएअनुसार नेपालको स्वास्थ्य नीति निर्माणमा संलग्न अधिकारीहरुलाई तपाईंले भन्नसक्ने पाँचवटा महत्वपूर्ण कुरा के हुन् ?
मेरो अमेरिकाको अनुभवमा नेपालको स्वास्थ्य सेवा प्रणालीमा युनिभर्सल हेल्थ केयर सिस्टम, डाक्टर र उत्कृष्ट मेडिकल सुविधासहितका प्राथमिक स्वास्थ्य केन्द्रमा वृद्धि, विद्युतीय मेडिकल रेकर्ड पद्धति, बिरामी र डाक्टरका लागि सुरक्षित वातावरण र उत्कृष्ट जनस्वास्थ्य चेतना समावेश हुनुपर्छ । यसो भयो भने नेपाली स्वास्थ्य सेवाले फड्को मार्नेछ ।