प्रतिरोधी घरमा लगानीकर्ता आकर्षित

भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि उद्योग खोल्न निजी क्षेत्रका लगानीकर्ताको आकर्षण देखिन थालेको छ।

भूकम्पलगत्तै स्वदेशी र विदेशी लगानीमा गिरावट आए पनि भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि उद्योग खोल्न निजी क्षेत्रको आकर्षण देखिएको हो। केही उद्योगले त्यसका लागि लगानी स्वीकृत गराइसके भने केही गराउने योजनामा छन्। 

उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानको अनुसार अहिलेसम्म पाकिस्तानको एक विदेशीले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत गराइसकेको छ। ‘१ करोड रुपैयाँको एफडीआई स्वीकृत भएको हो,’ उनले भने, ‘अन्य मुलुकका लगानीकर्ताको पनि आकर्षण बढ्न थालेको छ।’

भूकम्पपछि फजलिन्ड ट्ेरड सलिसिटर इन्टरनेसनल प्रालि पाकिस्तानको एफडीआई स्वीकृत भएको हो। ‘यो कम्पनीले भारत, पाकिस्तान, जापानलगायत अरबी मुलुकमा यसअघि भूकम्प प्रतिरोधात्मक घर निर्माणमा लगानी गरिसकेको देखिन्छ,’ विभागका एक अधिकारीले भने, ‘१ लाखदेखि ५ लाख रुपैयाँमा भूकम्प प्रतिरोधात्मक घर बनाउने योजना देखिन्छ।’ 

प्रिफेब्रिकेटेड, स्टिल र सिमन्ेट विभिन्न कच्चा पदार्थ प्रयोग गरी भूकम्प प्रतिरोधात्मक घर बनाउने योजनासहित उक्त कम्पनीको एफडीआई स्वीकृत भएको हो। ‘घर बनाएको आधारमा उसले सम्बन्धित व्यक्तिबाट शुल्क लिनेछ,’ उसको योजना उद्धृत गर्दै विभागका ती अधिकारीले भने। 

जस्तापाता प्रयोग गरेर बनाउने घरमा सवा लाख रुपैयाँ पर्ने उक्त कम्पनीले उल्लेख गरेको छ। सिमेन्ट र फेब्रिकेट प्रयोग गर्दा केही महँगो हुनेछ। उक्त लगातमा ५/७ जनाको परिवार बस्न सक्छन्। आवश्यकताअनुसार बहुतले भवन पनि बनाउन सकिने कम्पनीको प्रस्तावमा उल्लेख छ। प्रस्तावअनुसार २६ जनालाई रोजगारी दिने प्रतिबद्धता छ। कार्यालय भने ललितपुर १५ मा स्थापना गर्ने गरी उसको एफडीआई स्वीकृत भएको हो। एफडीआई रकम सत प्रतिशत पाकिस्तानको मात्रै हो। विभागका अनुसार यसबाहेक एक वर्षअघि एक जापानी कम्पनीले यस्तो कम्पनी स्थापना गरेको थियो। तर उक्त कम्पनी सञ्चालनमा आए नआएको जानकारी विभागलाई छैन। 

‘त्यस्तो घरको आवश्यकता महसुस नै भएको थिएन,’ विभागका अधिकारीले भने, ‘सायद बन्द भइसक्यो होला।’ विभागमा भूकम्पलगत्तै भूकम्प प्रतिरोधात्मक उद्योग दर्ताका लागि धेरै टोली आइसकेका छन्। बुझ्न आउने लगानीकर्तामा स्वदेशी र विदेशी दुवै छन्। 

पञ्चकन्या गु्रपले पने भूकम्प प्रतिरोधात्मक घर निर्माणमा केही दिनभित्रै लगानी स्वीकृत गराउने जनाएको छ। यस विषयमा विभागका अधिकारीहरूसँग भेट गरी पक्कापक्की गरिएको हो। ‘हाम्रो सत प्रतिशत स्वदेशी लगानी हुनेछ,’ ग्रुपका अध्यक्ष प्रदीपकुमार श्रेष्ठले भने, ‘अबको एक महिनाभित्र हामी सेवा दिन थाल्नेछांै।’ अन्य कम्पनीहरूभन्दा आफ्नो सस्तो हुने श्रेष्ठले दाबी गरे। 

‘कति लगानी गर्ने र कति सेवा शुल्क लिने भन्ने विषय केही समय पछि सार्वजनिक गर्नेछौं,’ उनले भने, ‘तर अन्य कम्पनीहरूभन्दा सस्तोमा सेवा दिनेछौं।’ भूकम्प प्रतिरोधात्मक घरमा लगानीकर्ताको आकर्षण बढ्न थालेपछि सरकारले सेवा सुविधा बढाउने तयारीसमेत गरेको छ।