बहुप्रतिक्षित दाङको टरिगाउँ विमानस्थल सञ्चालनमा

 बहुप्रतिक्षित दाङको टरिगाउँ विमानस्थल बिहीबारदेखि नियमित सञ्चालनमा आएको छ । दाङ विमानस्थलमा केही बेरमा गोमा एयरको लेट एयरक्राफ्ट अवतरण गर्दै छ ।

काठमाडौंबाट जहाज विहान ११ बजेतिर दाङतर्फ प्रस्थान गरेको गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले अनलाइनखबरसँग बताए । उनका अनुसार जहाजले सुर्खेतमा यात्रु झारेर दाङतर्फ प्रस्थान गर्नेछ । काठमाडौंबाट उडेको करिव डेढ घण्टामा जहाज दाङ पुग्ने छ ।

जहाज फर्किदा भने दाङबाट सिधै काठमाडौं आउने कार्कीले जानकारी दिए । सिधै दाङका लागि यात्रु कम भएपछि सुर्खेत हुँदै उडान सुरु गरेका हौं उनले भने- पछि यात्रुसंख्या बढ्दै गएपछि दाङमा सिधा उडान गर्नेछौं ।

एकतर्फी उडान टिकटको जिम्मा तुलसीपुर उद्योग वाणिज्य संघले जिम्मा लिएपछि गोमाले उडान सुरु गर्न तयार भएको हो । संघका अनुसार काठमाडौंका लागि १६ वटा टिकट बिक्री भएका छन् । गोमाको लेट एयरक्राफ्टमा १८ सीट क्षमता रहेको छ ।

दाङका लागि एकतर्फी भाडादर ७ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ । जहाज सुर्खेतमा अवतरण गरेर दाङ पुग्नका लागि करिव डेढ घण्टा लाग्ने प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए ।

लामो संघर्ष र दबावपछि तुल्सीपुरमा गोमा एयरले नियमित उडान सुरु गरेको संघका अध्यक्ष विमल रिजालले जानकारी दिए । संघको सहकार्यमा गोमाले सोमबार र बिहीबार उडान गर्ने बताइएको छ ।

नेपाल चार्टर्ड एशोसियसनका केन्द्रीय अध्यक्ष भरत रिजालसँगको समन्वयमा गोमा एयरसँग सम्झौता गरेर उडान सुरु गरेको संघको भनाई छ । संघले एकतर्फी भाडाको जिम्मा लिएपछि गोमा एयर दाङमा उडान भर्न तयार भएको प्रबन्ध निर्देशक मनोज कार्कीले बताए ।

यो काम राज्यको हो, यसमा राज्यको ठूलो लगानी छ संघका अध्यक्ष रिजालले भने- तरपनि निजी क्षेत्रले सामाजीक उत्तरदायीत्व वहन गर्दै सामाजिक काममा हातेमालो मात्रै गरेको हो ।

संघले सुरुमा नेपाल एयरलाइन्ससँग दाङ उडानका लागि अनुरोध गरेको थियो । नेपाल एयरलाइन्ससँग जहाज प्रयाप्त नभएपछि निजी क्षेत्रको एयरलाइन्ससँग हातेमालो गरेको रिजालले बताए ।

संघको अगुवाईमा बुधबार विमानस्थल वरपर सरसफाई, रुखहरु कटान र टावर मर्मतको काम भएको थियो ।