मानिसको उमेर जति छिप्पिँदै जान्छ उसको जैविक क्षमता पनि उत्तिकै घट्दै जान्छ । पुरुषको उमेर बढ्दै जाँदा उसको शुक्रकिटको गुणस्तरमा गिरावट आउने र त्यस कारणबाट उक्त पुरुषले जन्माउने बच्चामा अटिजम, साइजोफ्रेनिया लगायतका विभिन्न खाले स्वास्थ्य समस्या देखिन सक्छन् ।पछिल्लो समयमा मानिसहरुमा ढिलो उमेरमा विवाह गर्ने र पाको बनिसकेपछि मात्र बच्चा जन्माउने चलन बढ्दै गएको छ ।
यसले बच्चाको क्षमता तथा स्वास्थ्यमै नकारात्मक असर पुग्नसक्ने खतराप्रति सतर्क रहँदै वैज्ञानिकहरुले नयाँ उपाय सुझाएका छन् ।बेलायती वैज्ञानिकहरुले हरेक युवाहरुलाई १८ वर्षे उमेरमै आफ्नो शुक्रकिट संकलन गरी सुरक्षित रुपमा संग्रह गर्न सल्लाह दिएका छन् । यसरी शुक्रकिट बैंकहरुमा जमाएर सुरक्षित राखिएको आफ्नो शुक्रकिटलाई पुरुषहरुले आफुले चाहेको बेला पत्नीको गर्भाधारणको लागि प्रयोग गर्नसक्ने र बुढो उमेरमा बाबु बन्दा सन्तानको स्वास्थ्यमा पर्नसक्ने जोखिम हट्ने बताइएको छ ।
बेलायतको एबर्टी विश्वविद्यालयका प्राध्यापक डाक्टर केभिन स्मिथले राष्ट्रिय स्वास्थ्य सेवा अन्तरगत शुक्रकिट बैंकिङ एउटा नियम तथा मूल्यकै रुपमा स्थापित हुनुपर्ने बताए ।बि्रटिस फर्टिलिटी सोसाइटीले यो प्रयास एउटा कृत्रिम प्रयास मात्र भएको भन्दै बेलायती युवायुवतीहरुलाई उमेरमै विहे गरेर बच्चा बच्ची जन्माउन आह्वान गरेको छ ।बेलायतमा पुरुषहरु पहिलो बच्चाको बाउ बन्ने उमेर बढ्दै गएको छ । सन् १९९० को दशकमा बेलायती पुरुषहरु औषतमा ३१ वर्षको उमेरमा बाउ बन्ने गरेकोमा अहिले ३३ वर्षको उमेरमा मात्र बच्चाको बाउ बन्ने गरेका छन् ।
पुरुषले ३३ वर्षभन्दा धेरै पछिसम्म पनि गर्भाधानका लागि शुक्रकिट उत्पादन गर्न सक्षम हुने भएपनि उमेर छिप्पिँदै गएपछि हुने गर्भाधानका धेरै नकारात्मक प्रभावहरु हुने बताइएको छ ।मेडिकल इथिक्स जर्नलमा छापिएको समाचारमा डाक्टर स्मिथले बाबुको उमेर छिप्पिएपछि जन्मिएका बच्चाहरुमा देखिने स्वास्थ्य समस्या निकै सानो भएपनि त्यो समग्र राष्ट्रिय स्तरमै हुने भएकाले त्यसको प्रभाव भयानक हुने चेतावनी दिए।त्यसैले पिताको उमेर र भावी पुस्ताका बच्चाको स्वास्थ्यमा पर्ने प्रभावका विषयमा सबैले गम्भीर चासो तथा चिन्ता लिनुपर्ने अवस्था आएको उनको भनाइ छ ।
उनका अनुसार हरेक युवाहरुले आफ्नो १८ वर्षे उमेरमै शुक्रकिट संग्रहित गर्न सक्ने हो भने उनीहरुले छिप्पिएपछि बिहे गरेर पनि सोही शुक्रकिटबाट आफ्नो जवान श्रीमतीमा गर्धाधारण गरी बच्चा जन्माउन सक्ने र स्वस्थ सन्तानलाभ गर्न सक्नेछन् ।बेलायतमा निजी स्तरका शुक्रकिट बैंकमा शुक्रकिट संग्रहि तगर्नका लागि वर्षको डेढ देखि दुइसय पाउण्डसम्म लाग्ने भएपनि सरकारी तबरबाटै यो प्रयास गरिएमा युवाहरुले सस्तोमै आफ्नो शुक्रकिट भविष्यका लागि संग्रहि तगर्न सक्ने र त्यसमा उत्प्रेरित पनि हुने उनको तर्क छ ।
तर कतिपय विज्ञहरुले भने १८ वर्षमा देशभरका युवाहरुको शुक्रकिट संकलन गर्नुपर्ने यस्तो तर्कलाई हास्यास्पद भनेका छन् । उनीहरुका अनुसार धेरै पुरुषको शुक्रकिट संग्रहित गर्न सकिने प्रकारको नै नहुने र लामो समय संग्रहित गर्दा त्यसको गुणस्तर नै बिग्रिने जोखिम हुन्छ । साथै चिस्यानमा राखेर संग्रहित गरिएको शुक्रकिटको गर्भाधान क्षमता पनि ताजा शुक्रकिटको भन्दा कम हुने भएकाले संग्रहित शुक्रकिटबाट जन्मिने बच्चाको स्वास्थ्य उत्तम हुन्छ नै भनेर ग्यारेन्टी समेत गर्न नसकिने उनीहरु बताउँछन् ।त्यसका साथै संग्रहित शुक्रकिटबाट गर्भाधानका लागि टेस्टट्युब प्रविधिमा भर पर्नुपर्ने र त्यो प्रविधि महंगो हुने भएकाले सबैले अपनाउन पनि गाह्रो हुने र अव्यवहारिक हुने तर्क कतिपयको छ ।